Section 7L
वायर स्थानान्तरण (ट्रान्सफर) सम्बन्धी दायित्व
(१) वित्तीय सस्ंथाले प्रचलित कानून बमोजिम जुनसुकै मुद्रा वा जतिसुकै रकमको वायर स्थानान्तरण गर्नु अगावै देहाय बमोजिमको विवरण तथा जानकारी लिई ग्राहकको सही पहिचान तथा सम्पुष्टि गर्नु पर्नेछः–
(क) उत्पत्तिकर्ताको नाम,
(ख) उत्पत्तिकर्ताको खाता नम्बर र खाता नभएको अवस्थामा कारोबार पहिचान हुन सक्ने छुट्टै स्रोत नम्बर,
(ग) उत्पत्तिकर्ताको ठेगाना वा सो नभएको अवस्थामा निजको जन्ममिति र जन्मस्थान वा नागरिकता नम्बर वा राष्ट्रिय परिचयपत्र नम्बर वा ग्राहक पहिचान नम्बर,
(घ) हिताधिकारीको नाम तथा खाता नम्बर र खाता नभएको अवस्थामा कारोबार पहिचान हुन सक्ने छुट्टै स्रोत नम्बर,
(ङ) नियमनकारी निकायले तोकिदिएको अन्य विवरण वा जानकारी ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “उत्पत्तिकर्ता” भन्नाले वायर ट्रान्सफर मार्फत रकम पठाउने वास्तविक धनी समेतलाई सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था व्याच फायलमा जम्मा हुने वायर स्थानान्तरणको हकमा समेत लागू हुनेछ ।
(३) कारोबार भएको व्यहोरा कार्डमा देखिने गरी डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड मार्फत वस्तु वा सेवा खरीदको परिणाम स्वरुप भएको वायर स्थानान्तरणमा उपदफा (१) बमोजिमको व्यवस्था तथा वित्तीय संस्थाहरुबीच आफैंले आफ्नो खातामा वायर स्थानान्तरण गर्दा उपदफा (१) वा (२) को व्यवस्था लागू हुने छैन ।
(४) उत्पत्तिकर्ता वा हिताधिकारी आफ्नो विद्यमान ग्राहक भएमा, निजले गर्ने कारोबारबाट कसूरको जोखिम नहुने देखिएमा र निजको सही पहिचान तथा सम्पुष्टि भएकोमा वित्तीय संस्था सन्तुष्ट रहेमा वित्तीय संस्थाले उपदफा (१) बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि नगर्न समेत सक्नेछ ।
(५) वित्तीय संस्थाले ग्राहकको पचहत्तर हजार रुपैयाँ वा सोभन्दा कम मूल्यको वायर स्थानान्तरण गर्दा उपदफा (१) को खण्ड (ग) बमोजिमको विवरण वा जानकारी नलिन सक्नेछ ।
(६) वित्तीय संस्थाले उपदफा (१) बमोजिमका विवरणहरु भुक्तानी श्रृङ्खला अन्तर्गतका वा भुक्तानी दिने वित्तीय संस्थालाई वायर स्थानान्तरणको भुक्तानी सन्देश (पेमेण्ट म्यासेज) का साथ संलग्न गर्नु पर्नेछ ।
(७) वायर स्थानान्तरण सम्बन्धी माध्यम (इन्टरमिडियरी) को रुपमा काम गर्ने वा भुक्तानी दिने नेपालको कुनै वित्तीय संस्थाले उपदफा (६) बमोजिमको विवरण प्राप्त भएको सुनिश्चित गर्नु पर्नेछ ।
(८) उपदफा (७) बमोजिमको आवश्यक कागजात वा विवरण नभएको पाइएमा वित्तीय संस्थाले रकम पठाउने वा भुक्तानी श्रृङ्खला अन्तर्गतको वित्तीय संस्थासँग माग गर्नु पर्नेछ ।
(९) उपदफा (८) बमोजिम माग गरेको विवरण प्राप्त हुन नसकेमा भुक्तानी दिने वा माध्यमको रुपमा काम गर्ने नेपालको वित्तीय सस्थाले त्यस्तो वायर स्थानान्तरण उपदफा (१०) बमोजिमको नीति तथा कार्यविधिका आधारमा निलम्वन, अस्वीकार वा भुक्तानी गर्न सक्नेछ ।
(१०) प्रचलित कानून बमोजिम वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्ने नेपालको वित्तीय संस्थाले वायर स्थानान्तरणको अनुगमन, सोधखोज, निलम्वन, अस्वीकार, वास्तविक धनी तथा हिताधिकारीको पहिचान, भुक्तानी लगायतका विषयमा जोखिममा आधारित नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।
(११) वित्तीय संस्थाले वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्दा उत्पत्तिकर्ता वा हिताधिकारीको यस दफा बमोजिमको विवरण भए नभएको यकिन गर्न आवश्यक अनुगमन गर्नु पर्नेछ ।
(१२) पचहत्तर हजार रुपैया वा सोभन्दा बढी रकमको वायर स्थानान्तरण सम्बन्धी कार्य गर्ने वित्तीय संस्थाले उक्त रकमको भुक्तानी दिदा हिताधिकारीको सही पहिचान गर्नु पर्नेछ ।
(१३) वायर स्थानान्तरण मार्फत रकम वा मूल्य पठाउने, माध्यमको रुपमा काम गर्ने तथा भुक्तानी दिने वित्तीय संस्थाले वायर स्थानान्तरण सम्बन्धी सम्पूर्ण अभिलेख तथा विवरण कारोबार भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
(१४) वायर स्थानान्तरण मार्फत रकम वा मूल्य पठाउने, माध्यमको रुपमा काम गर्ने वा भुक्तानी दिने वित्तीय संस्थाले परिच्छेद ६ख. बमोजिमको व्यक्ति, समूह वा संगठनको रकम तत्काल रोक्का राख्नु पर्नेछ र कसैले कारोबार गर्न नपाउने व्यवस्था गर्नु पर्नेछ ।
(१५) वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्ने वित्तीय संस्थाले आफ्नो एजेण्टको सम्बन्धमा देहायको व्यवस्था गर्नु पर्नेछः–
(क) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रम लागू गराउने र सोको पालना भए वा नभएको सम्बन्धमा अनुगमन गर्ने,
(ख) एजेण्टको अद्यावधिक विवरण तयार गरी सार्वजनिक रुपमा वेबसाइटमा प्रकाशन गर्ने ।
(१६) वायर स्थानान्तरण सम्बन्धमा राष्ट्र बैंकले थप आवश्यक र उपयुक्त व्यवस्था गर्न सक्नेछ ।